विद्युत् महसुल पुनरावलोकनको तयारी, नयाँ संरचना ल्याइने
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुललाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया सुरु गरेको छ। आन्तरिक विद्युत् खपत बढाउने, उपभोक्तामैत्री महसुल प्रणाली लागू गर्ने तथा उद्योगलाई सहज दरमा विद्युत् उपलब्ध गराउने उद्देश्यले १५ दिनभित्र नयाँ प्रस्ताव तयार पार्न समिति गठन गरिएको हो।
प्राधिकरणका अनुसार पछिल्ला वर्षहरूमा जलविद्युत् उत्पादन बढ्दै गए पनि वर्षायाममा उत्पादित विद्युत् पूर्ण रूपमा खपत हुन नसकेको अवस्था छ। त्यसैले घरायसी उपभोक्तालाई थप सहुलियत दिने र उत्पादनमूलक उद्योगका लागि उपयुक्त महसुल दर निर्धारण गर्ने तयारी गरिएको छ। नयाँ प्रस्तावका आधारमा विद्युत् नियमन आयोगमार्फत नयाँ महसुल संरचना लागू गर्ने प्रक्रिया अघि बढाइनेछ।
यसैबीच, प्राधिकरणले विगतका खरिद प्रक्रिया, सञ्चालनमा रहेका परियोजना तथा प्राप्त उजुरीको अध्ययन गर्न छुट्टै छानबिन समिति पनि गठन गरेको छ। समितिले सुधारका सुझावसहित दुई महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ।

