लुम्बिनी र भारतको गोवालाई जोडेर संयुक्त पर्यटन सर्किट बनाउन प्रस्ताव
बुद्ध जन्मस्थल लुम्बिनी र भारतको प्रसिद्ध पर्यटकीय गन्तव्य गोवालाई एउटै पर्यटन सर्किटमा जोड्ने प्रस्ताव अघि सारिएको छ।
भारतको गोवामा आयोजित ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६’ मा सहभागी नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तसँग भेट गरी यस्तो प्रस्ताव राखेको हो।
भेटमा भैरहवा–गोवा सीधा हवाई उडान, संयुक्त पर्यटन प्रवर्द्धन तथा पर्यटन र सेवामूलक क्षेत्रमा लगानी साझेदारीका विषयमा छलफल भएको अध्यक्ष पोखरेलले जानकारी दिएका छन्।
प्रतिनिधिमण्डलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई उपयोग गर्दै लुम्बिनी र गोवाबिच पर्यटकको आवागमन बढाउन तथा दुवै गन्तव्यलाई एउटै पर्यटन प्याकेजमा जोड्न प्रस्ताव गरेको थियो। मुख्यमन्त्री सावन्तले नेपाल र गोवाबिच पर्यटन तथा व्यावसायिक साझेदारी विस्तार गर्ने प्रस्तावप्रति सकारात्मक धारणा राख्दै सहकार्य गर्न सकिने बताएका थिए।
लुम्बिनी धार्मिक तथा आध्यात्मिक पर्यटनका लागि प्रसिद्ध छ भने गोवा समुद्री पर्यटनको आकर्षक गन्तव्य हो। यी दुई गन्तव्यबिच सहकार्य हुन सके लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन बजार विस्तारसँगै नेपाल–भारत पर्यटन साझेदारीलाई नयाँ आयाम दिन सकिने अपेक्षा गरिएको छ।

