अलैँची निर्यातमा नयाँ कीर्तिमान, १२ अर्ब ६३ करोडको निर्यात
काठमाडौँ। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै १२ अर्ब ६३ करोड रुपैयाँ बराबरको ६३ लाख ८५ हजार ८७० किलो अलैँची निर्यात गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। भन्सार कार्यालय काँकडभिट्टाका अनुसार यो निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४ अर्ब ९६ करोड रुपैयाँले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा ४२ लाख ९४ हजार ५५० किलो अलैँची निर्यात भएको थियो।
अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालका अनुसार यस वर्ष सिजनको सुरुदेखि नै अलैँचीको मूल्य स्थिर रहेकाले करिब ९० प्रतिशत आम्दानी प्रत्यक्ष रूपमा किसानको हातमा पुगेको छ। अघिल्ला वर्षहरूमा प्रतिमन ७० हजार रुपैयाँमा कारोबार हुने अलैँची गत वर्ष प्रतिमन १ लाख ६ हजार रुपैयाँसम्म बिक्री भएको थियो, जसले किसानलाई अपेक्षाभन्दा राम्रो आम्दानी दिलाएको छ।
इलामबाट मात्रै करिब २ अर्ब ५० करोड रुपैयाँ बराबरको अलैँची निकासी भएको अनुमान गरिएको छ। राम्रो मूल्य र उत्पादनका कारण किसानहरू अहिले अलैँची खेती विस्तारमा जुटेका छन्। उनीहरूले अलैँची विकास केन्द्र तथा व्यावसायिक बगानबाट बिरुवा खरिद गरी नयाँ क्षेत्रमा खेती विस्तार गरिरहेका छन्। इलामका किसान महेश सापकोटाले यस सिजनमा मात्रै डेढ लाख बिरुवा बिक्री गरेका छन् भने आगामी वर्ष ५० मनसम्म उत्पादन हुने अपेक्षा गरेका छन्।
हाल नेपालका ५४ जिल्लामा १४ हजार ३८३.५ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ। विशेषगरी कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर र धनकुटालगायत पहाडी जिल्लामा यसको उत्पादन बढी हुने गरेको छ। मसालाका रूपमा व्यापक प्रयोग हुने नेपाली अलैँची मुख्यतः भारत निर्यात हुँदै आएको छ र पछिल्ला वर्षहरूमा किसानको आम्दानीको महत्वपूर्ण स्रोत बन्दै गएको छ।

