धितो राखेको सुन माग्दै राष्ट्रिय वाणिज्य बैंक घेर्न पुगे ऋणी
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकमा सुन फिर्ताको माग गर्दै ऋणीहरुले आन्दोलन गरेका छन् । भदौ २४ गते बैंकबाट लुटिएको भनिएको सुन फिर्ता माग्दै ऋणीहरुले आन्दोलन गरेका हुन् ।
सोमबार बैंकको केन्द्रीय कार्यालय रामशाहपथमा आन्दोलन गर्न पुगेका ऋणीहरुले बैंक घेराउसमेत गरेका थिए । सोही क्रममा बैंकको गेटमै परिचालन गरिएका प्रहरी र आन्दोलनरत ऋणीहरुबीच धकेलाधकेल समेत भएको थियो ।
ऋणीहरुले आफूहरुले बैंकमा धितोमा राखेको सुनको साटो सुन नै पाउनुपर्ने अडान लिएका छन् । बैंकले लुटिएकै मिति भदौ २४ गतेको मूल्य अनुसार पैसा दिने भनेपछि ऋणीहरु झन् आक्रोशित बनेका छन् ।
उनीहरुले बैंकमा धितोमा राखिएको सुनको सुरक्षा गर्ने जिम्मा बैंककै भएको र बैंकमा राखिएको सुन लुटिनुमा आफूहरुको दोष नभएको भन्दै आफूहरुले राखेको सुनको साटो सुन नै पाउनुपर्ने नत्र आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

