हुलास इन्फ्राका सिइओ इम्तियाज अलीलाई ‘सिइओ अफ द इयर’ सम्मान
काठमाडौं । हुलास इन्फ्रा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इम्तियाज अलीलाई ‘सिइओ अफ द इयर – क्लिन इनर्जी इन्फ्रास्ट्रक्चर कम्पनी’ सम्मानबाट विभूषित गरिएको छ ।
काठमाडौंस्थित मेरियट होटलमा आयोजित ‘नेपाल क्लिन इनर्जी विक २०२६’ अन्तर्गतको ‘फ्युचर इनर्जी लिडरसिप अवार्ड्स २०२६’ कार्यक्रममा उनलाई सो सम्मान प्रदान गरिएको हो ।
विद्युत विकास विभागकी महानिर्देशक मनदेवी श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले अलीलाई सो पुरस्कार हस्तान्तरण गरे । नेपालको स्वच्छ ऊर्जा क्षेत्रमा सोलार माउन्टिङ संरचना र अन्य पूर्वाधार निर्माणमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई यो अवार्ड दिइएको हो ।
सम्मान ग्रहण गरेपछि सिइओ अलीले नेपालको ऊर्जा रूपान्तरणमा स्वदेशी उत्पादनको भूमिकाबारे चर्चा गरे । उनले भने, ‘नेपालको स्वच्छ ऊर्जाको कथा मेगावाटमा भनिन्छ, तर हरेक मेगावाटको पछाडि स्टिल छ । त्यो स्टिल नेपाली नै हुनुपर्छ र नेपालमै बन्नुपर्छ ।’ उनले यो सम्मान विरगन्जस्थित कारखानाका इन्जिनियर र कर्मचारीहरूको सामूहिक प्रयासको फल भएको बताए ।
हुलास समूह अन्तर्गतको यस प्रतिष्ठानले विरगन्जमा छ वटा एकीकृत स्टिल उत्पादन इकाइहरू सञ्चालन गरिरहेको छ । कम्पनीसँग वार्षिक ७२ हजार मेट्रिक टन क्षमताको कन्टिन्युअस ग्याल्भनाइजिङ लाइन र सोलारका लागि आवश्यक सी-सेक्सन प्रोफाइल बनाउने ४० हजार मेट्रिक टन क्षमताको अटोमेटिक सिएनसी मेसिन रहेको छ । कम्पनीले पिइबी, स्टिल टावर र पोलहरू समेत उत्पादन गर्दै आइरहेको छ ।
फ्युचर इनर्जी लिडरसिप अवार्ड्सको आयोजना फर्स्टभ्यू मिडिया भेन्चर्सले सोलार क्वार्टर र इनर्जी स्टोरेज प्रोसँगको साझेदारीमा गरेको हो । यो नेपालको स्वच्छ ऊर्जा क्षेत्रको एक प्रमुख वार्षिक मञ्च हो, जहाँ स्वदेशी तथा विदेशी उद्योगी, लगानीकर्ता र सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।

