५६ लाखमा किनेको बीवाईडी एटो-३ दुई पल्ट दुर्घटनामा परेपछि चढौं डर लाग्ने, बेचौं २० लाख मात्रै !
काठमाडौं । नेपालमा पछिल्लो समय तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमा ‘सेफ्टी’ र प्राविधिक विश्वसनीयतालाई लिएर गम्भीर बहस सुरु भएको छ । झापा हल्दीबारीका पदम श्रेष्ठले तीन वर्षअघि ५६ लाख रुपैयाँ खर्चेर बडो उत्साह साथ बीवाईडीको विद्युतीय गाडी एटो-३ किनेका थिए । बा २९ प ३३०९ नम्बरको यो गाडी किनेको तीन वर्ष पुग्नै लाग्दा पनि जम्मा १६,००० किलोमिटर मात्र गुडेको छ । तर, यति छोटो अवधि र कम दूरी गुड्दा पनि यो ईभी दुई-दुई पटक दुर्घटनामा परिसकेको छ ।
दुवै पटक गम्भीर दुर्घटनामा परेर लाखौं रुपैयाँको भौतिक क्षति हुँदा समेत गाडीको मुख्य सुरक्षा प्रणाली मानिने एयरब्याग एक पटक पनि खुलेन । एकातिर अकल्पनीय दुर्घटनाबाट बाल-बाल बाँचेका गाडी धनी र यात्रुहरूमा ईभी चढ्न गम्भीर मनोवैज्ञानिक डर पैदा भएको छ भने अर्कोतिर गाडी बेच्न खोज्दा मूल्य घटेर २० लाख रुपैयाँ मात्र आउने भएपछि गाडी धनी पदम श्रेष्ठ तनावमा परेका छन् ।
टेकपानाले ईभी बजारमा लोकप्रिय मानिएको बीवाईडीको एटो-३ मा देखिएको यो सुरक्षा विवाद, कम्पनीको रवैया र आधिकारिक बिक्रेता साइमेक्स इंकको दाबीबिच उब्जिएका प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरेको छ ।
पहिलो दुर्घटना: म्याटमा एक्सिलेटर अड्कियो, रुखमा ठोक्कियो
गाडी धनी पदम श्रेष्ठ आफैं धेरै गाडी चलाउँदैनन् । पहिलो दुर्घटना ५ फागुन २०८२ का दिन श्रेष्ठकै घर छेउ झापामा भएको थियो । त्यस दिन गाडी उनका भतिज डिल्लिराम प्रधानले हाँकिरहेका थिए ।
श्रेष्ठले पहिलो दुर्घटनाको त्यो क्षण सम्झिँदै टेकपानासँग भने, “गाडी ५० देखि ६० किलोमिटर प्रतिघण्टाको गतिमा थियो । एक्कासि म्याटभित्र एक्सिलेटर छिरेछ । एक्सिलेटर अड्किएपछि गाडी कुदेको कुद्यै गर्यो । चालकले हतार-हतार ब्रेक हान्दा टायर नै पन्चर भयो, तर गाडी रोकिँदै रोकिएन ।”
नियन्त्रणबाहिर गएको गाडी अगाडि रहेको पर्खालमा ठोक्किने निश्चित भएपछि ठुलो दुर्घटना हुनबाट बचाउन चालकले गाडी मोड्न खोजेका थिए । गाडी सडक छेउको रुखमा गएर जोडले ठोक्कियो । गाडीको अघिल्लो भागमा ठुलो क्षति पुग्यो, तर गाडीका एयरब्याग भने एउटा पनि खुलेनन् ।
दुर्घटनापछि श्रेष्ठले एयरब्याग नखुलेको विषयमा बीवाईडीको आधिकारिक बिक्रेता र सर्भिस सेन्टरसँग गुनासो गरे । तर, कम्पनीका प्राविधिक तथा इन्जिनियरहरूले यसलाई स्वभाविक ठहर्याउने प्रयास गरे । श्रेष्ठका अनुसार त्यतिबेला कम्पनीका तर्फबाट भनिएको थियो, “गाडी साइडमा ठोक्किँदा एयरब्याग खुल्दैन, ठ्याक्कै बिचमा ठोक्किएपछि मात्रै एयरब्याग खुल्छ ।”
पहिलो दुर्घटनापछि गाडी बनाउन पुरै एक महिना लाग्यो । मर्मतसम्भारको कूल बिल १२ लाख रुपैयाँ उठ्यो । जसमध्ये ७५ देखि ७६ प्रतिशत रकम बीमा कम्पनीले कभर गर्यो भने बाँकी खर्च श्रेष्ठ आफैंले ब्यहोरे ।
दोस्रो दुर्घटना: दुई सांसदसहित चार जना बाल-बाल बाँचे
पहिलो दुर्घटनाको मर्मतपछि गाडी सोरुमबाट निस्किएर १०० किलोमिटर मात्र गुडेको थियो । १३ साउन २०८३ का दिन गाडी धनी पदम श्रेष्ठ झापाबाट काठमाडौं आउँदै थिए । गाडीमा उनीसँगै झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाश पाठक, झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित रास्वपाकै अर्का सांसद शम्भु ढकाल र चालक लक्ष्मण बस्नेत गरी चार जना सवार थिए ।
दिउँसोको करिब २:३० बजेको समय थियो । झापाबाट काठमाडौं आउने क्रममा सिन्धुलीको भीमान नजिकै ५०/६० किमि प्रतिघण्टाको गतिमा रहेको सोही बीवाईडी एटो-३ पुनः अचानक अनियन्त्रित भयो । गाडीले सडक छेउको सानो पिलर र डिभाइडर भत्काउँदै धारामा गएर जोडले ठोकियो ।
कम्पनीका इन्जिनियरले पहिलो दुर्घटनामा ‘बिचमा ठोक्किए मात्र एयरब्याग खुल्छ’ भनेका थिए । तर, यस पटक गाडीको अघिल्लो भागको ठ्याक्कै बिचमा गम्भीर इम्प्याक्ट हुने गरी ठोक्कियो । गाडीको अगाडिको भाग ध्वस्त हुँदा पनि एयरब्याग भने खुलेन । फुल अप्सनको आधुनिक ईभीमा रहेका कुनै पनि सुरक्षा प्रणालीले काम गरेनन् ।
दोस्रो दुर्घटनापछि मर्मत गर्दा ८ लाख १५ हजार रुपैयाँ खर्च भयो । भीमानमा दुर्घटनाग्रस्त भएको गाडीलाई अर्को गाडीमा लोड गरेर काठमाडौँसम्म पुर्याउँदा थप ४५ हजार रुपैयाँ भाडा बुझाउनु पर्यो । यसरी दोस्रो दुर्घटनामा ८ लाख ६० हजार रुपैयाँभन्दा बढी खर्च भएको छ । बीमाको दाबी गरे पनि रकम अझै प्राप्त भइनसकेको र पहिलेको भन्दा घटेर आउने बताइएको श्रेष्ठले जनाए ।
चालक बस्नेतको बयान: “स्टेयरिङ अड्कियो, गाडी गयो है गयो भनेर कराएँ”
दोस्रो दुर्घटना हुँदाका बखत गाडी झापा भद्रपुरका लक्ष्मण बस्नेतले हाँकिरहेका थिए । बस्नेत आफैं पनि विगत ८ महिनादेखि बीवाईडीकै डल्फिन ईभी किनेर चलाउँदै आएका चालक हुन् । सन् २००० मा लाइसेन्स बनाएका बस्नेतसँग गाडी चलाएको २६ वर्ष लामो अनुभव छ ।
दुर्घटनाको त्यो अकल्पनीय क्षणबारे टेकपानासँग विस्तृत कुराकानी गर्दै चालक लक्ष्मण बस्नेतले भने:
“हामी चारै जना गाडीमा गफ गर्दै काठमाडौँ आइरहेका थियौं । भीमान पुग्नुभन्दा एक घण्टा अघि खाना खाइयो । गाडी हाँकिरहँदा मलाई एक हात दुःखेजस्तो भइरहेको थियो । मैले गाडीले एकातिर तानेजस्तो गर्छ भनेर गाडीमै रहेका साथीहरूलाई सुनाएको पनि थिएँ । खाना खाएको ठाउँमा हामीले गाडीको चेकजाँच पनि गर्यौं । टायरको हावा हेर्दा एउटा टायरमा ४१ र अरूमा ४० पाइएको थियो, जुन एकदमै नर्मल हो । गाडी भर्खरै सर्भिसिङबाट निकालेर १०० किलोमिटर मात्रै गुडेको हुनाले ठिकै होला भनेर काठमाडौँतर्फ लाग्यौं ।”
बस्नेतले अगाडि थपे, “खाना खाइसकेपछि माननीय प्रकाश पाठक ज्यूले ‘गाडी म कुदाउँछु’ भन्नुभयो । तर मैले गाडीमा केही समस्या भएजस्तो छ, तपाईं नकुदाउनुस् भनेर रोकेँ । अर्का माननीय ज्यूले ‘त्यसो भए ग्यारेजमा देखाउनुपर्छ’ भन्नुभयो । तर ईभी गाडी जहाँ पायो त्यहीँ देखाउन मिल्दैन भन्ने मलाई थाहा थियो । भीमान नजिकै दाहिने मोडमा गाडी मोड्दै गर्दा गाडी ४४ किलोमिटर प्रतिघण्टाको स्पिडमा थियो । एक्कासि स्टेयरिङ लक भयो । मैले हत्तपत्त ‘गाडी गयो है गयो’ भनेर कराएँ । स्टेयरिङ कन्ट्रोलमै ध्यान जाँदा तुरुन्तै ब्रेक लगाउनेतर्फ ध्यान गएन । ठोकिनुभन्दा केही सेकेन्ड अगाडि मात्रै ब्रेक लगाएँ । ५ सेकेन्डभित्रै हामी कहालीलाग्दो दुर्घटनामा पर्यौं ।”
दुर्घटनापछिको भयावह अवस्था स्मरण गर्दै बस्नेतले भने, “भाग्य बलियो भएर समथर भागमा डिभाइडरमा ठोकिँदै धारामा पुगेर गाडी अड्कियो र कसैलाई ठुलो चोटपटक लागेन । तर त्यत्रो क्षति हुँदा पनि एयरब्याग खुलेन । ठोक्किसकेपछि गाडीको केही पनि चलेन । हामीले भित्रैबाट ढोका खोलेर ज्यान बचायौँ । दुर्घटनापछि पनि गाडीको स्टार्ट बन्द भएन, अलिकति धुवाँजस्तो निस्कियो । दुर्घटना भएको एक घण्टापछि मात्रै स्टार्ट बन्द भयो ।”
कम्पनी र सोरुमको व्यवहारप्रति आक्रोश पोख्दै बस्नेतले भने, “प्रहरीले दुर्घटनाको स्पष्ट प्रतिवेदन बनाएर दिएको छ । म आफैं २६ वर्षदेखि गाडी चलाइरहेको छु र ८ महिनादेखि बीवाईडीकै डल्फिन चलाउँछु । तर कम्पनीले गाडीमा प्राविधिक समस्या छ भन्ने कुरा स्वीकार नै गर्दैन । माननीय ज्यू आफैं सोरुममा उपस्थित हुँदा उल्टै सोरुमका कर्मचारीले थर्काए । हामी बाल-बाल बाँचेका छौँ । १० दिनमा प्राविधिक रिपोर्ट आउँछ भनेको डेढ महिना बितिसक्दा पनि सार्वजनिक गरिएको छैन । गाडीमा कमजोरी छैन भने कम्पनीले रिपोर्ट सार्वजनिक किन गर्दैन ? मान्छेको ज्यानभन्दा ठुलो गाडी त होइन होला नि !”
सांसद पाठकले संसद्मै उठाएका थिए आवाज
सोही दुर्घटनामा परेका रास्वपा सांसद प्रकाश पाठकले २८ भदौ २०८३ का दिन आफ्नो आधिकारिक फेसबुक पेजमा भिडिओ पोस्ट गर्दै र ३० भदौ २०८३ को प्रतिनिधिसभा बैठकमा बोल्दै यस विषयलाई गम्भीरताका साथ उठाएका छन् ।
अर्को भिडिओमा पाठकले भनेका छन्, “झापादेखि काठमाडौंको यात्रामा झापाका दुई माननीयसहित हामी चार जना बीवाईडी एटो-३ मा थियौं । भीमान आइपुग्नै लाग्दा दाहिने मोडमा गाडी मोडेर अघि बढिरहँदा एक्कासि सवारी चलाइरहेका लक्ष्मण बस्नेत कराउन थाले- ब्रेक लागेन, स्टेरिङ लक भयो ! पाँच सेकेन्डभित्रै हामी कहालीलाग्दो दुर्घटनामा पर्यौँ ।”
उनले अगाडि थपे, “भाग्य बलियो थियो र पहाडी बाटोको समथर भागमा डिभाइडरमा ठोकिँदै धारामा पुगेर गाडी अड्कियो । फुल अप्सनको गाडी गम्भीर दुर्घटनामा पर्दा गाडीमा रहेका कुनै पनि सुरक्षा प्रणालीले काम गरेनन् । न एयरब्याग निस्कियो, न अन्य सुरक्षा प्रणाली नै सक्रिय भए । बीवाईडी कम्पनीका गाडीमा मात्र होइन, आजभोलि धेरै ईभी गाडीहरूमा यस प्रकारका ‘सिस्टम एरर’का समस्या धेरै देखिन थालेका छन् । धेरै ठाउँमा गाडी भित्रै जलेर र विभिन्न दुर्घटनामा परेर धनजनको क्षति हुने घटना बढेका छन् । यसमा सम्बन्धित कम्पनी, नियामक निकाय र सरकारले गम्भीर ध्यान दिनु जरुरी छ ।”
बीवाईडी बिक्रेता साइमेक्स इंकको दाबी: “गाडीमा खराबी छैन, चालक निदाएको फुटेज छ”
गाडी धनी, चालक र सांसदले गाडीको प्राविधिक त्रुटि, स्टेयरिङ लक, ब्रेक फेल र एयरब्याग नखुलेको आरोप लगाइरहँदा नेपालका लागि बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंकले भने गाडीमा कुनै प्राविधिक कमजोरी नरहेको दाबी गरेको छ ।
साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर समिर श्रेष्ठले टेकपानासँग कुराकानी गर्दै गाडीमा प्राविधिक खराबी नभई चालककै गल्तीका कारण दुर्घटना भएको र त्यसको पर्याप्त प्रमाण कम्पनीसँग सुरक्षित रहेको दाबी गरे ।
“हामीसँग ब्रेक र स्टेरिङ समेतको सम्पूर्ण प्राविधिक रिपोर्ट छ । गाडीबाट डीडीआर (ड्याशक्याम) फुटेज निकालिएको छ । फुटेजमा ब्रेक लगाएको नदेखिने र चालक निदाए जस्तो देखिन्छ,” श्रेष्ठले भने, “जुनसुकै स्वतन्त्र इन्जिनियर तथा प्राविधिकलाई देखाए पनि गल्ती गाडी धनी पक्षकै देखिन्छ । यदि गाडीमै फल्ट छ भने उहाँहरूले त्यही गाडी किन चलाउनुहुन्छ ?”
गाडीको प्राविधिक डेटाबारे प्रष्टीकरण दिँदै उनले थपे, “एटो-३ सँगै ड्याशक्याम पनि आउँछ । त्यसको स्पष्ट फुटेज हामीले प्राप्त गरिसकेका छौँ । दुर्घटना कसरी भयो भन्ने कुराको सम्पूर्ण डेटा डिबक्स (Data Box) मा बस्छ । इम्प्याक्ट हुने समयमा गाडीको गति ४५ किलोमिटर प्रतिघण्टा रहेको देखिन्छ । एयरब्याग खुल्ने या नखुल्ने भन्ने कुरा प्राविधिक रूपमा इम्प्याक्टको प्रकृति र सेन्सरमा पर्ने बलमा भर पर्छ ।” उनले आवश्यक परे घटनासँग सम्बन्धित सबै फुटेज र प्राविधिक डेटा सार्वजनिक गर्नेसमेत चेतावनी दिए ।
गाडी धनीको चिन्ता: चढौं डर, बेचौं २० लाखमात्रैको भ्यालुएसन !
दुई पटकको गम्भीर दुर्घटना र लाखौँको क्षतिपछि गाडी धनी पदम श्रेष्ठ ठुलो मानसिक र आर्थिक तनावमा परेका छन् । दोस्रो दुर्घटनापछि मर्मत भएर आएको गाडी आफैं चलाएर झापा लैजान डर लागेपछि कम्पनीले नै चालकको व्यवस्था गरिदिएको थियो ।
श्रेष्ठका अनुसार गाडी किनेको तीन वर्ष पुग्न लागे पनि अहिलेसम्म जम्मा १६,००० किलोमिटर मात्र गुडेको छ । मर्मत-सम्भार पछि गाडीमा कुनै समस्या नरहेको कम्पनीका इन्जिनियर तथा प्राविधिकहरूले बताउने गरेका छन् । यस्तो अवस्थामा गाडीको रिसेल भ्यालु कम्तीमा ४० लाख रुपैयाँभन्दा माथि आउने आशा उनले गरेका थिए । तर, दुई पटक दुर्घटनामा परेको, एयरब्याग नखुलेको र प्राविधिक विवादमा तानिएका कारण बजारमा यो गाडीको मूल्य २० लाख रुपैयाँभन्दा बढी दिन कोही तयार छैनन् ।
“५६ लाखमा किनेको गाडी तीन वर्षमा १६ हजार किमी मात्र गुडेको छ । तर चढौं भने फेरि दुर्घटना होला कि भन्ने डर छ, बेचौं भने २० लाख मात्रै भन्छन् । ३६ लाख रुपैयाँ सोझै घाटा खाएर कसरी बेच्नु ?” श्रेष्ठले आफ्नो बाध्यता सुनाए, “अब यो दशैं पछि त गाडी जसरी नि बेच्नुपर्नेछ ।”
उपभोक्ता अधिकारको प्रश्न
नेपालमा इन्धन (आन्तरिक दहन इन्जिन) गाडीको तुलनामा विद्युतीय सवारी साधनको आकर्षण र पहुँच द्रुत गतिमा बढेको छ । इन्धन जोगाउने र वातावरणमैत्री हुने नाममा भित्रिएका आधुनिक ईभीहरू पूर्ण रूपमा ‘सफ्टवेयर’ र इलेक्ट्रोनिक सेन्सरमा आधारित हुन्छन् ।
तर, बीवाईडी एटो-३ को यो घटनाले नेपालमा आयात भइरहेका ईभीहरूको सुरक्षा मापदण्ड र ‘आफ्टर सेल्स सर्भिस’ माथि गम्भीर प्रश्न उब्जाएको छ ।
दुई पटकसम्म गाडी रुख र धारामा जोडले ठोक्किएर अघिल्लो भाग ध्वस्त हुँदा पनि एयरब्याग नखुल्नुले गाडीको क्र्याश सेन्सर र एयरब्याग कन्ट्रोल युनिट (ACU) को प्राविधिक सञ्चालनमाथि ठुलो शङ्का पैदा गरेको छ । कम्पनीले ‘इम्प्याक्टको प्रकृति’ भन्दै पन्छिन खोजे पनि यात्रुको ज्यान जोगाउने न्यूनतम सुरक्षा प्रणाली नै सक्रिय नहुनु गम्भीर विषय हो ।
ईभीमा प्रयोग हुने इलेक्ट्रोनिक पावर स्टेयरिङ र ब्रेक-बाई-वायर प्रविधिमा सफ्टवेयर एरर आउँदा स्टेयरिङ लक हुने वा ब्रेक नलाग्ने जोखिम अन्तर्राष्ट्रिय स्तरमै बहसमा छ । चालकले २४ वर्षभन्दा बढी अनुभव हासिल गरेको अवस्थामा ‘स्टेयरिङ अड्कियो’ भन्नु र संसदमा समेत यो विषय उठ्नुलाई सामान्य मान्न सकिँदैन ।
दुर्घटनापछि कम्पनीले १० दिनमा रिपोर्ट दिन्छु भनेर डेढ महिनासम्म सार्वजनिक नगर्नु र उल्टै उपभोक्तालाई थर्काउने शैली अपनाउनुले कम्पनीको उत्तरदायित्वमाथि प्रश्न उठाएको छ । ड्याशक्याम फुटेज र डेटा डीबक्सको विवरण कम्पनी एक्लैले राखेर चालकमाथि दोष थुपार्नुभन्दा सरकारी वा स्वतन्त्र प्राविधिक टोली (थर्ड पार्टी इन्जिनियर) बाट निष्पक्ष जाँच गराउने परिपाटी विकास गर्नुपर्ने आवश्यकता देखिन्छ ।
नेपाल सरकार, यातायात व्यवस्था विभाग र उपभोक्ता संरक्षण मञ्चले ईभी सवारीको प्राविधिक सुरक्षा परीक्षण र एयरब्याग मापदण्डबारे कडा निर्देशिका जारी नगर्ने हो भने ५६ लाख खर्चेर किनेको गाडीमा ‘ज्यानको बाजी’ थाप्नुपर्ने उपभोक्ताको बाध्यता अन्त्य नहुने पो हो कि ?
उपभोक्ता अधिकारकर्मी हरि मैनाली भित्र्याउने कानुन बनाइए पनि त्यसलाई नियमन गर्ने र सेफ्टी मिजरको बारेमा सरकारको तर्फबाट कुनै तयारी वा थप कानुनी व्यवस्था नगरिएको बताउँछन् । “यसमा जे जति जटिलताहरू देखिएका छन्, त्रुटिपूर्ण उत्पादन नेपाल भित्रिएर हो कि जेन्युन उत्पादन नै नेपालको रोड वा अन्य अवस्थाका कारण त्यसो भएको हो भन्नेमा अन्योलता छन्,” उनले भने, “यस्ता सरोकारका विषय निराकरण नगरी नियमित प्रयोग गर्नु ईभीमैत्री भए पनि दीर्घकालीन रूपमा नेपाल र नेपालीको हितमा नहुन सक्छ ।”

